मध्यपूर्व तनाव: यूएईस्थित नेपालीलाई सतर्कता, कतार एयरवेज र नेपाल एयरलाइन्सका उडान प्रभावित

मध्यपूर्व तनाव: यूएईस्थित नेपालीलाई सतर्कता, कतार एयरवेज र नेपाल एयरलाइन्सका उडान प्रभावित

शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • मध्यपूर्व तनाव: यूएईस्थित नेपालीलाई सतर्कता, कतार एयरवेज र नेपाल एयरलाइन्सका उडान प्रभावित

    काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले त्यहाँ बसोबास गर्ने नेपाली नागरिकलाई अनावश्यक आवतजावत नगर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

    अबु दाबीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यूएई सरकार तथा दूतावास/महावाणिज्य दूतावासबाट जारी हुने सुरक्षा निर्देशन र आधिकारिक जानकारीको पालना गर्न आग्रह गरिएको छ । विशेषगरी भीडभाडयुक्त स्थानबाट टाढा रहन, अनावश्यक यात्रा कम गर्न र अपुष्ट सूचनामा विश्वास नगर्न दूतावासले सचेत गराएको छ । आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने फोन, इमेल र ठेगानासमेत सार्वजनिक गरिएको छ ।

    यसैबीच, अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि इरानले खाडी क्षेत्रका विभिन्न स्थानमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी जवाफी कारबाही थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार कतारको अल उदैद हवाई अड्डा, कुवेतको अल–सालेम एयर बेस, यूएईको अल धाफ्रा एयर बेस तथा बहराइनस्थित अमेरिकी नौसेना अड्डालाई निशाना बनाइएको हो ।

    कतारले इरानबाट प्रक्षेपित तीनवटा मिसाइल प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरिएको दाबी गरेको छ । यद्यपि, केही स्थानमा मिसाइलका टुक्रा खसेको र क्षति पुगेको विवरण सार्वजनिक भएको छ । अल जजिराले यूएईमा मिसाइलका टुक्रा खसेर एक जनाको ज्यान गएको जनाएको छ ।

    तनाव बढ्दै जाँदा खाडी देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन् । कतार, कुवेत र यूएईले हवाई क्षेत्र बन्द गरेसँगै व्यावसायिक उडानहरू प्रभावित भएका छन् । कतारले हवाई क्षेत्र बन्द गरेपछि कतार एयरवेजले दोहातर्फ जाने तथा दोहाबाट सञ्चालन हुने सबै उडान अस्थायी रूपमा स्थगित गरेको छ ।

    दोहा–काठमाडौं रुटमा दैनिक उडान गर्दै आएको कतार एयरवेज सहित नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानसमेत प्रभावित भएका छन् । भारतका निजी विमान कम्पनी इन्डिगाे र एयर इन्डियाले पनि मध्यपूर्वका गन्तव्यमा उडान स्थगित गरेका छन् ।

    इरान, इजरायल र खाडी क्षेत्रबीचको बढ्दो सैन्य तनावका कारण पश्चिम एशियाभरका व्यावसायिक उडानहरू अवरुद्ध भएका छन् । इरान, इजरायल, यूएई, कतार, ओमान, लेबनान, सिरिया, इराक र जोर्डनतर्फ जाने तथा आउने धेरै उडानहरू रद्द वा स्थगित भएका छन् ।

    यस परिस्थितिमा नेपाल सरकारले समेत आफ्ना नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आग्रह गरेको छ भने त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij