काठमाडौं । इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकपकाे सुपर एटमा लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले शत प्रतिशत जित हात पारेको हाे ।
इंग्ल्यान्डले कोलम्बोमा १ सय ६० रनको लक्ष्य ३ बलअघि नै छ विकेट गुमाए भेट्टायाे । हारसंगै न्युजिल्यान्डकाे सेमिफाइनल यात्रा तय गर्न पाकिस्तान र श्रीलंकाबीच शनिबार हुने ग्रुप २ को सुपर एट खेल नतिजा पर्खनुपर्ने भएको छ ।
न्युजिल्यान्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलाे दुई खेलमा पराजित हुँदै बाहिरिएको छ । पाकिस्तानले श्रीलंकालाई ६४ रनले पराजित गरे वा श्रीलंकाले दिएको लक्ष्य १३.१ ओभरभित्र पूरा गरेमा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्न सक्छ ।
इंग्ल्यान्डले मुम्बईमा भारत र वेस्ट इन्डिजमध्ये एकसंग सेमिफाइनल खेल्ने छ। इंग्ल्यान्डको सुरुआत राम्रो थिएन । पहिलो दुई ओभरमै टोलीका फिल सल्ट दुई र जस बटलर शुन्य रनमा आउट भएका थिए ।
कप्तान ह्यारी ब्रुकले २४ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाए । ज्याकोब बेथल १६ बलमा २१, टम बान्टोन २४ बलमा ३३ र साम करन २२ बलमा २४ रन बनाए । न्युजिल्यान्डका रचिन रवीन्द्रले ४ ओभरमा १९ रनमात्र खर्चेर ३ विकेट लिए । यसअघि इंग्ल्यान्डले १६ ओभर स्पिनरहरूको प्रयोग गरेपछि न्युजिल्यान्डलाई १५९–७ को स्कोरमा रोकेको थियो ।
टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले पावर प्लेको ६ ओभरमा ५३ रन जोडेर उत्कृष्ट सुरुआत गरेपनि इङलिस स्पिनरसामु खुलेर खेल्न सकेनन् ।