काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले सबैभन्दा बढी रन बनाउँने रेकर्ड बनाएको छ । बुधवाराती मुम्बई इन्डियन्स बिरुद्धको खेलमा आईपीएलकै सबैभन्दा उच्च स्कोर बनाएको हो । हैदराबादले यसअघि सन् २०१३ को संस्करणमा रोयल च्यालेन्जर्स बेंग्लोरले बनाएको २६३ रनको कीर्तिमान तोडेको हो ।
सो संस्करणमा बेंग्लोरले पुने वारियर्सविरुद्ध निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २६३ रनको योगफल बनाउँदै कीर्तिमान बनाएको थियो । टस हारेर ब्याटिङ गरेको हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले पहिले ब्याटिङगर्दै तीन विकेटको क्षतिमा २७८ रनको कीर्तिमान बनाएको हो । मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रनमात्र बनाएपछि सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको हो ।
हैदराबादबाट हेनरिक क्लासेन, अभिषेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाएका थिए । क्लासेनले ३४ बलमा चार चौका र सात छक्कासहित ८० रन बनाए । हैदराबाद ११ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १६१ रनको स्थितिमा हुँदा क्लासेनले चौथो विकेटका लागि आइदेन मार्करमसँग नौ ओभरमा ११६ रनको शतकीय साझेदारी गर्दै हैदराबादलाई कीर्तिमानी योगफलसम्म पुर्याएका थिए ।
क्लासेनसँगै अविजित रहेका मार्कले २८ बलमा दुई चौका र एक छक्कासहित ४२ रन बनाए । यस्तै, ओपनर ट्राभिस हेडले २४ बलमा नौ चौका र तीन छक्कासहित ६२ रन जोडे । अभिषेक शर्माले २३ बलमा तीन चौका र सात छक्कासहित ६३ रन थपे । अर्का ओपनर मयंक अग्रवाल भने ११ रनमा आउट भएका थिए ।
हैदराबादविरुद्ध मुम्बईका तिलक वर्माले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३४ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । टिम डेविडले ४२ रन जोड्दा इशान किशनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । यस्तै, कप्तान हार्दिक पन्ड्याले २४ र रोमारियो सेफर्डले १५ रन थपे।
रोहित र इशानले पहिलो विकेटका लागि ३.२ ओभरमा ५६ रनको साझेदारी गर्दै मुम्बईलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटरले सो लय कायम राख्न नसक्दा मुम्बईले २४६ रनमात्र बनाउन सक्यो । हैदराबादका प्याट कुमिन्स र जयदेव उनादकटले समान दुई विकेट लिए । सहबाज अहमेदले एक विकेट हात पारे ।
मुम्बईका हार्दिक पन्ड्या, गेरार्ड कोइट्जे र पियुश चावलाले समान एक विकेट लिए । हैदराबादविरुद्ध ६ बलर प्रयोग गरे पनि मुम्बईका कुनै पनि बलर सफल बन्न सकेनन् । खेलमा कुल ३८ छक्का प्रहार भएका थिए । जसमध्ये हैदराबादले १८ र मुम्बईका ब्याटरले २० छक्का प्रहार गरे ।
प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई भने तालिकको नवौँ स्थानमा छ ।