भक्तपुर । १७ औ संस्करणको प्रधान सेनापति अन्तर स्कुल टी २० कपको उपाधि डिएभी स्कुल जाउलाखेलले जितेको छ । नेपाल प्रहरी स्कुल साँगालाई ३० रनले पराजित गर्दै डिएभी स्कुलले उपाधि जितेको हो ।
शैनिक आवाशीय महाविधालय शल्लाघारीको आयोजनामा भक्तपुरमा सोमवार भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको डिएभीले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १३ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र जेड्न सक्यो ।

उपाधि जितेको डिएभीले नगद एक लाखसहित ट्रफि प्राप्त गर्यो । दोश्रो भएको नेपाल पुलिस स्कुलले नगद ५० हजारसहित ट्रफिमा चित्त बुझायो ।
उपाधि जित्ने टिमलाई प्रमुख अतिथि बलाधिकृत रथी प्रदिप जंग केसीले शिल्ड, ट्रफि पुरस्कार प्रदान गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै बलाधिकृत रथी प्रदिप जंग केसीले यस्ता प्रतियोगिताले खेलाडी जन्माउन सहयोग पुगेको बताउँदै नेपालमा क्रीकेट खेलको विकासका लागि यस्ता प्रतियोगिताले ठुलो सघाउ पुर्याएको बताए ।
नेपालले क्रीकेटबाट अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न सफल भएको केशीको भनाई थियो ।सोहि अवसरमा उप विजेता लगायतलाई उपरथि शन्तोष बल्लभ पौडेल, सहायकरथी प्रकाश बहादुर चन्दले ट्रफि पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै शैनिक आवाशिय महाबिधालयका प्रमुख व्यवस्थापन अधिकृत शिव पौडेलले महाविधालयले शैक्षिक गतिविधि संगै खेलकुद लगायत का अतिरिक्त क्रीयाकलापमा त्यतिकै ध्यान दिइएको जनकारी दिए ।
प्रमुख पौडेलका अनुसार, ११ बिधालयका १२ टिमको सहभागिता रहेको प्रतियोगिता १० दिनसम्म चलेको थियो । प्रतियोगितामा १९ वटा खेल खेलाइएको थियो ।

खेलमा डिएभी स्कुलका कमल शाही फाइनल खेलका ‘प्लेयर अफ द म्याच’, डिएभी स्कुलकै तनिश शाह ‘सर्वोत्कृष्ट बलर’ घोषित भए । त्यसैगरी सैनिक आवासीय महाविद्यालयका राजदीप आचार्य ‘सर्वोत्कृष्ट ब्याट्सम्यान’, नेपाल पुलिस स्कुलका सागर सिंह ‘सर्वोत्कृष्ट फिल्डर’ तथा नेपाल पुलिस स्कुलकै प्रियान्सु किशोर रावत ‘प्लेयर अफ द सिरिज’ घोषित भए ।
डिएभी स्कुलका श्री शङ्कर पौडेललाई ‘उत्कृष्ट प्रशिक्षक’को उपाधि प्रदान गरियो । साथै, प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने अफिसियललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही समारोहमा सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय भलिबल प्रतियोगिता(२०८२ (छात्र तथा छात्रा समूह) का विजेता तथा उपविजेता टोलीहरूलाई क्रमशः ३०,००० र २०,००० नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो प्रतियोगितामा छात्रतर्फ हिमरश्मि हाईस्कुल विजेता तथा सैनिक आवासीय महाविद्यालय उपविजेता बनेका थिए । त्यसैगरी छात्रातर्फ सैनिक आवासीय महाविद्यालय विजेता र सेन्ट लरेन्स कलेज उपविजेता बनेका थिए ।