काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले रोमाञ्चक जित निकाल्दै प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गर्दै विजय यात्रा सुरू गरेकाे हो ।
१४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । खेलको मध्य चरणसम्म नेदरल्यान्ड्सको पकड देखिए पनि अन्तिम समयमा फहिम अशरफको उत्कृष्ट ब्याटिङले पाकिस्तानलाई जित दिलायो । ११ बलको सामना गरेका अशरफले तीन छक्का र दुई चौकासहित अविजित २९ रन बनाए ।
पाकिस्तानका लागि साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५ तथा सलमान अघाले १२ रन जोडे ।
बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए । यस्तै, रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट हात पारे ।
यसअघि श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमै अलआउट भयो । कप्तान स्कट इडवार्ड्सले सर्वाधिक ३७ रन बनाए भने बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यानले २० तथा आर्यान दत्तले १३ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।
कप्तान इडवार्ड्स आउट भएपछि नेदरल्यान्ड्सको इनिङ दबाबमा पर्यो । १७औँ ओभरमा टोलीले दुई विकेट गुमायो, दुवै विकेट साइम अयुवले लिए ।
पाकिस्तानका बलरमध्ये सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट झारे । साहिन शाह अफ्रिदीले पनि एक सफलता हात पारे ।