काठमाडौं । नेपालमा खेलकुदको दिगो विकासलाई संस्थागत रूप दिने उद्देश्यका साथ स्थापना हुन लागेको ‘पेसएक्स स्पोटर्स’ले आफ्नो औपचारिक परिचय सार्वजनिक गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले आफ्नो अवधारणा, लक्ष्य र आगामी कार्ययोजनाबारे जानकारी दिएको हो ।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले प्रेस विज्ञप्ति प्रस्तुत गर्दै नेपालमा खेलकुदमा पर्याप्त सम्भावना रहे पनि आधारभूत तहमा प्रशिक्षण नहुनु, दीर्घकालीन योजना र संरचित कार्यक्रमको अभाव, खेल शिक्षाप्रति न्यून समझदारी जस्ता चुनौती कायम रहेको उल्लेख गरिन् । ती समस्यालाई समाधान गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ स्थापनाको अन्तिम चरणमा पुगेको उनले बताइन् । उनले पत्रकार सम्मेलनमा उठाइएका प्रश्नहरूको जवाफसमेत दिएकी थिइन् ।

संस्थाले आफूलाई केवल प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, शैक्षिक संस्था, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सरोकार राख्ने निकायहरूलाई एउटै प्लेटफर्ममा जोड्ने साझा अभियानका रूपमा अघि बढाउने जनाएको छ । खेलकुदलाई शिक्षा, स्वस्थ जीवनशैली र समग्र राष्ट्रिय विकाससँग जोडेर अघि बढाउनु संस्थाको दीर्घकालीन सोच रहेको बताइएको छ ।

प्रेस सम्मेलनमा संस्थाका सिईओ सौरव सिंह र निर्देशक डा. रिसव दास विशेष अतिथिका रूपमा उपस्थित थिए । सिईओ सिंहले पत्रकारहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै विद्यालय र समुदायस्तरमै प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र चारित्रिक विकास, विद्यालय तथा कलेजस्तरीय खेलकुद कार्यक्रम, कार्यस्थलमा आधारित खेलकुद तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम र विभिन्न प्रतियोगिता तथा सामुदायिक गतिविधिलाई प्राथमिकता दिइने स्पष्ट पारे ।

‘पेसएक्स स्पोटर्स’ले प्रशिक्षक, पूर्व खेलाडी, खेल संघ–संस्था, स्थानीय सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमसँग सहकार्य गर्दै दीर्घकालीन प्रभाव पार्ने खेलकुद संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । युवामा केन्द्रित लगानीमार्फत दक्ष खेलाडी उत्पादन गर्नुका साथै स्वस्थ, अनुशासित र उत्तरदायी नागरिक निर्माणमा योगदान पुर्याउने लक्ष्य संस्थाले लिएको छ ।
