काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबारको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले हराउँदै विराटनगरले आफ्नो अपराजित यात्रा कायम राख्यो ।
एनपीएल सिजन–२ मा सुदूरपश्चिम रोयल्ससँगै विराटनगर किंग्स मात्र अहिलेसम्म अपराजित टोली बनेका छन् । यसअघि पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध कीर्तिमानी स्कोर बनाउँदै सहज जित हात पारेको थियो ।
उता, उद्घाटन खेलमै पूर्व विजेता जनकपुर बोल्ट्सलाई हराएर राम्रो सुरुवात गरेको काठमान्डुले भने यसपटक लगातार दोस्रो हार व्यहोर्नुपरेको छ । दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
काठमान्डुले पेस गरेको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
विराटनगरका ओपनर जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्का सहित ३६ रन बनाएर उत्कृष्ट योगदान दिए । मार्टिन गप्टिलले १९ बलमा २५ रन (२ चौका, १ छक्का) जोड्दा, नरेन भट्टले ३० बलमा २४ रन बनाए ।
बलिङतर्फ काठमान्डुका शाहब आलमले २ विकेट लिए भने कप्तान करण केसी, जेरार्ड एरासमस र सन्तोष यादवले एक–एक विकेट हात पारे ।
यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको थियो ।