काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी पहिलो कप्तानको भूमिका निभाएकी क्रिकेटर नेरी थापाले अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट सन्न्यास घोषणा गरेकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत् आफ्नो व्यावसायिक खेल करिअर टुंग्याउने घोषणा गरेकी हुन्।
‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’उनले लेखेकी छन् ।
नेरी थापाको कप्तानीमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सन् २००७ को एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन् ।
नेरीको कप्तानीमा नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
नेरी थापा नेपाली महिला घरेलु क्रिकेट इतिहासकै पहिलो शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।