महंगीदर घट्यो, भदौमा मुद्रास्फीति १.८७ प्रतिशत मात्रै

महंगीदर घट्यो, भदौमा मुद्रास्फीति १.८७ प्रतिशत मात्रै

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • महंगीदर घट्यो, भदौमा मुद्रास्फीति १.८७ प्रतिशत मात्रै

    काठमाडौं ।  गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने

    गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच दशमलव ०६ प्रतिशत र तीन दशमलव १९ प्रतिशत रहेको थियो ।

    गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको तीन दशमलव ९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ७४ प्रतिशत, मरमसलाको छ दशमलव ३१ प्रतिशत र दाल तथा गेँडागुडीको तीन दशमलव ५८ प्रतिशतलेघटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ७७ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ ।

    बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ७३ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ९९, मधेसको एक दशमलव ७४, बागमतीको एक दशमलव ७२, गण्डकीको एक दशमलव ४७, लुम्बिनीको एक दशमलव ७६, कर्णालीको एक दशमलव ८५ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ८८ प्रतिशत रहेको छ ।

    त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २१, तराईको एक दशमलव ७०, पहाडको एक दशमलव ६८ र हिमालको दुई दशमलव ५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

    चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

    यस अवधिमा चालु खाता रु एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

    यस्तै, भदौ मसान्त सम्ममा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब २० करोड रहेको छ भने रु एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै, यो अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ ।

    गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा सात दशमलव छ प्रतिशतले बढेर रु २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २५ खर्ब ८२ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ९८ अर्ब ९७ करोड बराबर रहेको छ । गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ ।

    चालु आवको दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव सात महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij