च्याङ्ग्रा व्यापारीको दुःख, दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

च्याङ्ग्रा व्यापारीको दुःख, दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • च्याङ्ग्रा व्यापारीको दुःख, दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

    बागलुङ- अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा। पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प झिजेको शरीर। अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गरेका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिए।

    डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दशैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३०० च्याङ्ग्रा लिएर आएका हुन्।

    दुई सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका छन भने बाँकी १०० सस्तो मूल्यमा दिने ‘मुड’मा रोकाया रहेका छन्। मङ्गलबारसम्म सबै च्याङ्ग्रा बिक्री गरेर घर फर्किने उनको योजनामा रहेको छ। तर बिक्री नहुँदा उनी निराश देखिन्छन। रोकायाले दशैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन। विगत १५ वर्षदेखि यही पेसा गर्दै आएका उनको बागलुङमा भने पहिलो यात्रा हो।

    डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आएका रोकाया पहिले दाङतिर जाने गरेको सुनाए। यसपाली पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ।

    बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उनले बताए। बजार झर्न केही ढिला हुँदा घर फर्कन हतार भइसकेको रोकायाले सुनाए।

    'दशैँको बेला सहर बजारमा बस्ने मान्छेहरूले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरूलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एकजोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु पर्‍यो, अरु के गर्ने?', उनले भने, 'डोल्पाबाट यहाँ आउन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र?'

    उनका साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि रहेका छन्। दुई जनाले साझेदारीमा डेढ÷डेढ सय च्याङ्ग्रा लिएर आएका हुन। दशैँको समयमा च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताए। डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नु परेको उनले सुनाए। अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाइदिएको हुँदा पहिलो पटक यहाँ आएको उनको भनाइ छ।

    यसवर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि रु ४५ हजार हरेको खत्री जानकारी दिए। आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४० हजारमा दिने गरेको उनले बताए। यो मूल्य अघिल्लो वर्षकोभन्दा रु चार हजारले कम रहेको खत्रीले बताए।

    दशैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन्। गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौँ, पोखरासहित देशका ठूलो सहरमा पुर्‍याएर हजारौँ नाफा कमाउने गर्दछन्।

    मुस्ताङसहित डोल्पा, मुगु, हुम्लालागायत ठाउँबाट दशैँका बेला बागलुङमा भेडाच्याङ्ग्रा लिएर सयौँ व्यापारीहरू आउने गर्छन्। बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij