युनिटी कपको पहिलो टी–२० : नेपाललाई ऐतिहासिक सफलता

युनिटी कपको पहिलो टी–२० : नेपाललाई ऐतिहासिक सफलता

आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • युनिटी कपको पहिलो टी–२० : नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौं ।  वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ ।

    संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा शनिबार राती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।

    नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने  अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।

    नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै  कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

    वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन तथा कप्तान अकिल होसेनले एक विकेट लिए ।

    नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेलेको हो । अर्को सातादेखि ओमानमा हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तरराष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपाल र वेष्ट इण्डिजसँग दोस्रो खेल यही असोज १३ गते हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij