भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिकाले गठन गरेको नगर खेलकूद विकास समितिलाई औपचारिक रूपमा पूर्णता दिइएको छ। नगरप्रमुख बासुदेव थापाको अध्यक्षतामा बनेको समितिको सदस्यसचिवको जिम्मेवारी पूर्व जिल्ला खेलकूद विकास समिति अध्यक्ष दीपक थापाले पाउने भएका छन्।
समितिमा नगरका विभिन्न वडाबाट खेलाडी तथा प्रतिनिधिहरू समावेश गरिएको छ। वडा नं. १ का तेक्वान्दो खेलाडी उमेश थापा मगर, वडा नं. २ का रमेश रानामगर, वडा नं. ८ का भलिबल खेलाडी कृष्ण भण्डारी र वडा नं. १० की फुटबल खेलाडी गंगा देउजा सदस्यमा चयन भएका छन्।
त्यसैगरी सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत र महिला तर्फ शर्मिला बस्नेत लम्साललाई समेत समितिमा स्थान दिइएको छ।
सदस्यसचिव थापाका अनुसार समितिको पहिलो बैठक चाँडै बस्नेछ । उनले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि र नगरलाई खेलमैत्री बनाउन समिति क्रियाशील रहने प्रतिबद्धता जनाए।