जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ ।
     
     त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालको स्तरोन्नति प्रक्रियाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण गर्न लागिएको र त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले सूचना जारी गरेको श्रेष्ठको भनाई छ ।  
     
    केन्द्र बिस्तार गर्न अस्पताल भवनको स्तरोेन्नति, आयोजना निर्माण तथा सञ्चालन गर्न, प्रस्तावित आयोजनाको संरचनामा अस्पताल भवन, आकस्मिक सेवा भवन, बहिरङ्ग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन निर्माण गर्नुपर्ने छ । त्यसैगरी कुरुवा घर, कर्मचारी आवास, खानेपानी ट्याङ्की, अक्सिजन प्लाण्ट, फोहर व्यवस्थापन कक्ष, शवगृह, खेलमैदान, पार्किङ, बहुउद्देश्यीय भवन, पार्क र हेलिप्याड निर्माण गर्न प्रस्ताव गरिएको छ । 
     
    त्यसका लागि पाँच सय ४७ रोपनी जग्गा आवश्यक पर्ने देखिएको डा श्रेष्ठले बताए । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी विशिष्टिकृत अस्पतालमा हाल पचास जनरल वार्ड मात्र रहेकाले श्वासप्रश्वासका बिरामीको उपचारमा समस्या भइरहेको छ । 
     
    सरकारले २०६७ मा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । 
     
    पचास शैय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेबाहेक झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको अस्पतालले जनाएको छ । 
     
    अस्पतालमा तनहुुको शुक्लागण्डकी, भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाबाट सेवाग्राही आउने गरेका छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । 
     
    त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रयोगशाला, भिडियो एक्सरे, माइनर अप्रेसनलगायत सेवा दिइरहेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा तीमध्ये करिब ५० जना बिरामी श्वासप्रश्वाससम्बन्धीका रहेका अस्पतालले जनाएको छ । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij