काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू(१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे सुरु हुने छ ।
नेपालले यसअघि खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईलाई डिएल पद्दति अनुसार पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानमाथि सहज जित हात पारेको थियो ।
उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा अगाडि छ ।
अफगानिस्तानले आजै यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्ने छ । नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी रहने छन् ।
दुवैले जित हातपारे नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने छ । ब्याटिङमा नेपालका दुई ओपनरहरू साहिल पटेल र निरज यादवले राम्रो सुरुवात दिलाइरहेका छन् ।
बलिङमा स्पीनरहरूले निरन्तर राम्रो बलिङ गर्दै नेपालको जितको आधार तय गरिरहेका छन् । ओमानसँगको दोस्रो खेलमा युवराज खत्रीले पाँच विकेट लिएका थिए ।
यूएईसँग तल्लो मुलपानीमै भएको खेलमा सन्तोष यादवले किफायती बलिङ गर्दै महत्वपूर्ण तीन विकेट लिएपछि वर्षाले प्रभावित खेलमा नेपालले जित निकाल्न सम्भव भएको थियो ।