चितवन, १९ असोज । अण्डाको पोषण र स्वास्थ्य महत्वबारे जनचेतना फैलाउन नेपाल लेयर्स कुखुरापालक संघले विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।
अक्टोबरको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते (अक्टोबर ९) मनाइँदैछ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ।
दिवसको अवसरमा देशभरका विद्यालयमा विद्यार्थी र अभिभावकलाई अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका र सन्तुलित आहारमा यसको महत्वबारे जानकारी दिने कार्यक्रम भइरहेका छन्। भेटेरिनरी चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर अण्डाको महत्वबारे जानकारी दिइरहेका छन्।
असोज २३ गते चितवनमा ‘एग वाक’ आयोजना गरिँदैछ। बिहान ७ बजे उद्योग संघ चितवनको परिसरबाट सुरु हुने एग वाक नारायणगढको सहिद चोकमा पुगेर सकिनेछ। त्यसपछि अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग र बजारका विषयमा सरोकारवालाबीच छलफल हुनेछ।
फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी–१२, कोलिन, भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कजस्ता पोषक तत्व पाइन्छन्। अण्डाको प्रोटिनले मांसपेशी तथा शरीरका तन्तुको निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि–विकासमा पनि भूमिका खेल्ने उनले बताए।
अण्डाको पहेँलो भागमा पाइने कोलिनले मस्तिष्क र स्नायु प्रणाली तथा ल्युटिन र जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान गर्ने चिकित्सकको भनाइ छ।
किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र अण्डाको खपत बढाउने उद्देश्यले संघले यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ। पछिल्लो समय अण्डाको बजार विस्तारसँगै नेपालमा कुखुरापालनमा नयाँ किसानसमेत आकर्षित हुन थालेका छन्।