काठमाडौं । आईपीएल क्रिकेटमा पाँच हारको शृंखला तोड्दै चेन्नईले दोस्रो जित निकालेको छ । सोमबार राती सम्पन्न खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको हाे ।
लखनउले दिएको १६७ रनको लक्ष्य चेन्नईले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । चेन्नईका शिवम दुबेले अविजित ४३ तथा एमएस धोनीले ११ बलमा अविजित २६ रन बनाए ।
१११ रनमा ५ विकेट गएपछि क्रिजमा आएका कप्तान धोनीले दुबेसँग मिलेर अविजित ५७ रनको साझेदारी गर्दै खेलमा जित दिलाएका थिए । चेन्नईका रचिन रविन्द्रले ३७ रन बनाए भने शैक रशीदले २७ रन बनाएका थिए।
रवि विश्नोइले २ विकेट लिँदा आवेश खान, दिग्वेश राथी र एइडेन मार्क्रमले सानन १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
कप्तान रिषभ पन्तले सर्वाधिक ६३ रन बनाए । मिचेश मार्शले ३०, आयुष बदोनीले २२ तथा अब्दुल समदले २० रनकाे याेगदान गरेका थिए ।
चेन्नईका रविन्द्र जडेजा र मथिसा पथिरानाले २-२ तथा खलिल अहमद र अन्शुल कमबोजले १-१ विकेट लिए ।
जितपछि ७ खेलमा ४ अंक भएको चेन्नई अंकतालिकामा १०औं स्थानमा यथावत् छ । ७ खेलमा ८ अंक भएको लखनउ चौथोमा यथावत् छ ।