काठमाडौं । अभिषेक शर्माले ४० बलमै शानदार शतक बनाएपछि सनराइजर्स हैदराबादले आईपीएल क्रिकेटमा दोस्रो जित निकालेको छ । शनिबार राती सम्पन्न खेलमा पञ्जाब किङ्समाथि ८ विकेटको जित दर्ता गर्दै हैदराबादले ६ खेलमा दोस्रो जित निकालेको हो ।
पञ्जाबले दिएको २४६ रनको विशाल लक्ष्य पछ्याएकाे हैदराबादले १८.३ ओभरमा २ विकेटको क्षतिमा जित हात पार्याे । अभिषेकले ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रन बनाए ।
अर्का ओपनर ट्राभिस हेडले ६६ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । अभिषेकले चौथो ओभरमै जीवनदान पाएका थिए ।
चौथो बलमा यश ठाकुरको बलमा क्याच आउट भएपनि उक्त बल नो बल भएको थियो । त्यसपछि उनी थप आक्रमक भएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २४५ रनकाे विशाल याेगफल बनाएको थियो । पञ्जावका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए ।
प्रभसिमरन सिंहले ४२ रन बनाउँदा मार्कस स्टोइनिस ३४ रनमा अविजित रहे । हैदराबादका हर्शल पटेलले ४ विकेट लिए भने इशान मलिंगाले २ विकेट लिए ।
जितपछि ६ खेलमा ४ अंक भएको हैदराबाद अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ । ५ खेलमा ६ अंक भएको पञ्जाब छैटौं स्थानमाछ ।