काठमाडौं । लखनउ सुपर जायन्ट्सले आईपीएल क्रिकेटमा दोस्रो जित हात पारको छ । शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित निकालेको हो ।
लखनउले दिएको २०४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो । सुर्यकुमार यादवले अर्धशतक बनाएपनि मुम्बईलाई खेल जिताउन सकेनन् ।
यादवले ४३ बलमा ६७ रन बनाएका थिए । हार्दिक पान्ड्या २८ रनमा अविजित रहे भने तिलक वर्मा २५ रनमा रिटायर्ड आउट भए । अन्तिम १२ बलमा २९ रन आवश्यक रहँदा १९औं ओभरमा शार्दुल ठाकुरले ७ रन मात्र दिए ।
अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेपनि बाँकी बलमा मुम्बईले बाउन्ड्री कटाउन सकेन । लखनउका शार्दुल ठाकुर, आकाश दीप, दिग्वेश राथी र आवेश खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएकोले लखनउले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन जाेडेको थियो । लखनउका लागि मिचेल मार्श र एइडेन मार्क्रमले अर्धशतक बनाएका थिए । मार्शले ६० र मार्करमले ५३ रन बनाएका थिए ।
मुम्बईका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा ३६ रन दिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्वनी कुमार र विग्नेश पुथुरले समान एक विकेट लिए । जितसँगै ४ खेलमा ४ अंक जोडेको लखनउ छैटौं स्थानमा रहेको छ भने समान खेलमा २ अंक मात्र रहेको मुम्बई सातौं स्थानमा छ ।