काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । आइतबारराती सम्पन्न रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले पहिलो जित निकालेको हो ।
राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका सन्दीप शर्माले वाइड बल फालेपछिको बलमा एमएस धोनीलाई आउट गरेका थिए ।
त्यसपछि २ सिंगल र जेमी ओभर्टनले छक्का प्रहार गरेपछि चेन्नईको आशा जागेको थियो । तर त्यसपछिका २ बलमा सन्दीपले २–२ रन मात्र दिए । चेन्नईका लागि कप्तान रुतुराज गायक्वाडले सर्वाधिक ६३ रन बनाए । रविन्द्र जडेजा ३२ रनमा अविजित रहे । राहुल त्रिपाठीले २३ रन बनाए ।
राजस्थानका वानिन्दु हसरंगाले ४ विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाए १८२ रनको सम्मानजनक योगफल बनाएको थियो ।
राजस्थानका नितिश रानाले ३६ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८१ रन बनाएका थिए । रियान परागले ३७ तथा सन्जु सामसनले २० रन जोडे ।
चेन्नईका खलील अहमद, नूर अहमद र मथिसा पथिरानाले समान दुुई विकेट लिँदा रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले १–१ विकेट लिए । जितसँगै राजस्थानले ३ खेलमा पहिलो जितसहित २ अंक जोडेको छ भने लगातार दोस्रो हार बेहोरेको चेन्नईको पनि ३ खेलमा २ अंक नै छ ।