जनचेतनामूलक कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाइँदै, वार्षिक २० लाखको मृत्यू

जनचेतनामूलक कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाइँदै, वार्षिक २० लाखको मृत्यू

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • जनचेतनामूलक कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाइँदै, वार्षिक २० लाखको मृत्यू

    भक्तपुर। विश्व क्षयरोग दिवस आज संसारभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस विश्वभर मनाउने गरिएको छ ।

     ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने नारासहित नेपालमा पनि यो दिवसले मनाईदैछ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सोहि दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

    सोहि क्रममा भक्तपुरको थिमिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरिएको छ । केन्द्रका निर्देशक डा. श्रीराम तिवारीद्धारा जारी विज्ञप्तिमा क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको उल्लेख गरिएको छ ।

    सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको एक अध्ययन अनुसार नेपालमा करिव ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।

    सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए ।उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए ।

    त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ ।अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ ।

    tb day.jpeg

    करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१÷२२ देखि २०२५÷२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट एक सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र (अनुमानित) उपलब्ध छ । 


    रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छे तथा चुरोट रक्सी या लागुऔषध सेवन गर्नेहरुमा बढी  क्षयरोग लाग्ने सम्भावना रहन्छ । औषधिको पूर्ण मात्रा सेवन नगरेमा रोगको संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने केन्द्रले जनाएको छ ।

    नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ ।

    हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ । तीन साता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा क्षयरोग लागेको हुन सक्छ ।

    त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । पछिल्लो वर्षमा छ महिना नियमित औषधिको सेवनले क्षयरोग निको हुने बिधिमा उपचार हुन थालेको छ । सो बिधिमार्फत उपचार गर्दा इन्जेक्सनसमेत दिन नपर्ने चिकित्सकहरु बताउँछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij