सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेस सरकार

सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेस सरकार

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेस सरकार

    महोत्तरी । मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बिमाको सहुलियत पाउने भएका छन् । 

    सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बिमाका लागि मधेस प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ । यसै सन्दर्भमा मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता भएको छ ।

    यो सम्झौताबाट लोकतन्त्र स्थापनाका पक्षमा भएको आन्दोलनमा सहादत प्राप्त गरेका र हराइरहेका व्यक्तिका १ हजार ८१ परिवारले बिमा सुविधा पाउने प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । स्वास्थ्य बिमा गराउने सन्दर्भमा सहिद परिवारको विस्तृत विवरण सङ्कलनमा बोर्डका कर्मचारी खटिएको मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जानकारी दिए ।

    विवरण अद्यावधिक भइसकेपछि मन्त्रालयले बोर्डलाई प्रतिपरिवार रु तीन हजार पाँच सयका दरले रकम पठाउने सचिव रिजालको भनाइ छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ बोर्डमा जम्मा भएपछि परिवारका पाँच जना सदस्यले स्वास्थ्य बिमाअन्तर्गत सहयोग प्राप्त गर्नसक्ने कानुनी व्यवस्था छ ।

    प्रदेश सरकारले सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका सहिद परिवारका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा ४० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजन गरिएको उक्त रकमबाट सहिद परिवारको स्वास्थ्य बिमा गरिने मन्त्रालयले स्पष्ट गरेको छ । 

    सहिद परिवारको उपचार प्रबन्धका लागि प्रदेश सरकारले लिएको तत्परता र पहलकदमीलाई यहाँका बुद्धिजीवीले सकारात्मक रुपमा लिएका छन् । यसै सन्दर्भमा जलेश्वरस्थित रामनन्दन, विश्वेशर महेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य अजयकुमार झाले सहिद परिवारको खोजी गरी स्वास्थ्य बिमाको व्यवस्थासहित राहतसहयोग उपलब्ध गराउन बजेटसमेत विनियोजन गरेकामा प्रदेश सरकारलाई धन्यवाद दिँदै अझै लोककल्याणकारी एवं जनमुखी कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij