काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्ने भएका छन् । टीयु क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे सुरु हुनेछ। आइसीसी क्रिकेट विश्वकप लिग–२ सम्पन्न भएसंगै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
नेपालले आगामि जुनमा हुने टी–२० विश्वकपको तयारीका रुपमा यो सिरिजलाई लिएको छ। नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन्। विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्। नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो ।
शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् । आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।