काठमाडौं । घरेलु मैदानमा मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
टी–२० टिममा ए टिमका ६ जना खेलाडीलाई समावेश गरिएको छ । लिग टु खेलेको टिमका १५ मध्ये ११ जना यथावत छ । लिग २ खेलेको टोलीमा रहेका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ बाहिरिएका छन् ।
नेपाल ए टिमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जिसी, रासिद खान र सागर ढकाल टी–२० टिममा समावेश भएका हुन् ।
टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा रहेका छन् ।
नेदरल्याण्ड्स र नामिबिया सम्मिलित टी–२० सिरिज मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ । नेपालले टी–२० सिरिजको पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ ।