काठमाडौं । कोशी प्रदेशमा रहेको तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो ।
शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए ।
तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको जनाइएको छ ।
प्रहरीले एक्जाभेटरको चाबी खोसेपछि केही बेरपछि विवाद सामसुमजस्तो भयो । निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो । निर्माण पक्षले चाबी माग्दै गर्दा माथिपट्टिबाट ढुंगा बर्सियो, त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भएको जनाएको छ ।
मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुंगको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।
काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न पैदलयात्रीले जाँदा र फर्किंदा १० किलोमिटर हिड्नुपर्छ ।