लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

    गोलबजार (सिरहा) । रोेजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

    लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ  छ । ठगीसम्बन्धी मुद्दामा  जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

    लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा  बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको  छ । यसैगरी  ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए ।

    अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख  महतोले बताए । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij