काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिलो ओभरमै नेदरल्यान्ड्सको विकेट लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९ः१५ बजेदेखि सुरु भएको खेलमा नेपालका सोमपाल कामीले पहिलो ओभरको तेश्रो बलमै विकेट लिएका हुन् ।
सोमपालले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका हुन् । सो विकेटसंगै नेदरल्यान्ड्सले शुन्य रनमै पहिलो विकेट गुमाउन पुगेको छ । आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो समाचार तयार पर्दासम्म नेदरल्यान्ड्सले छ ओभरमा दुुई विकेटको क्षतिमा १८ रन बनाएको छ ।
बिहीबार भएको सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो । नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा सञ्चालित त्रिदेशीय शृङ्खलाबाट नेपालले आईसीसी विश्वकप लिग–२ सुरुवात गरेकोे छ ।
सिरिज अन्तर्गतको पहिलो खेलमा बिहिवार नेपाल नामेवियासंग चार विकेटले पराजित भएको थियो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । नेपालले तेश्रो खेल फागुन ९ मा नामिबिया र चौथो खेल फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।
लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ ।