काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । मलेसियासँग चार विकेटले पराजित भएसंगै नेपालको एसिया कप खेल्ने सपना चकनाचुर भएको हो। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।
क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा नेपालले टस जितेर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर जित हात पार्यो ।
मलेसियाको जितमा इल्सा हन्टरले अविजित अर्धशतकीय योगदान गरिन्। ५३ बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाइन्। नेपालकी सिता रानामगर र कविता जोशीले २-२ विकेट तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासेले समान एक-एक विकेट लिए।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन, डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २० रन बनाउँदा सिता रानामगर ६ र कविता जोशी २ रन बनाएका थिए । उपाधिका लागि आइतबार मलेसियाले युएईको सामना गर्नेछ। शुक्रबारै भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुगेको हो।