राजविराज । सप्तरी जिल्ला सदरमुुकाम राजविराजस्थित कारागारको जग्गा अतिक्रमणमा परेको छ । दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो ।
कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा बनाएका कारण जग्गा अतिक्रमणमा परेको जेलर प्रवीणकुमार अधिकारीले बताए । अतिक्रमित जग्गामा पक्की र फुसका गरी ८० घर निर्माण भइसकेका छन् ।
अतिक्रमित जग्गा खाली गराउन कारागार प्रशासनले विभिन्न समयमा राजविराज नगरपालिका, कारागार विभाग र स्थानीय प्रशासनले विगत १० वर्षदेखि ‘अतिक्रमित जग्गा खाली गर्ने’ सम्बन्धी ३५ र १५ दिने सूचना पटकपटक जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
विसं २००८ मा निर्माण भएको राजविराज कारागार सरकारी उपेक्षाका कारण जीर्ण र असुरक्षित बन्दै गएको छ । एक सय २५ कैदी राख्ने क्षमताको सो कारागारमा हाल १४ महिलासहित चार सय ७६ कैदीबन्दी राखिएको जेलर अधिकारीको भनाइ छ ।
अधिकारीका अनुसार, जीर्ण भवनमा क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी राख्नुपर्दा जोखिमसँगै निगरानी र व्यवस्थापन गर्न समस्या भएको छ । त्यसैगरी दरबन्दीअनुसारका स्वास्थ्यकर्मी, जेनरेटर, इन्भर्टरलगायत भौतिक सामानसमेत नहुंदा थप समस्या भएको अधिकारीले बताए ।
कारागारमा दम, श्वासप्रश्वास, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेहलगायत रोगले पीडित कैदीबन्दीको सङ्ख्या ठूलै रहे पनि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको उनको भनाइ छ । क्षमताभन्दा धेरै कैदीबन्दी भएपछि शौच र नुहाउनेदेखि खाना पकाउन र खान पनि लाइन लाग्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको भनाइ छ ।