दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

    कीर्तिपुर (काठमाडौँ) । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ ।

    “यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ”, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन्।

    “गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ”, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ । 

    कृषिमा निर्यात गर्दै आएका संस्थाहरूले टाटेसिमीको निर्यात सम्भावना देखेपछि दक्षिणकालीका किसानलाई सो बाली लगाउन प्रोत्साहन गरेका थिए । प्रायः काउली र काँक्रो लगाइरहेका किसानले पनि दुवै बालीमा रोेग कीरा बढ्न थालेपछि वैकल्पिक बाली खोजिरहेका थिए । यस्तैमा ललितपुरस्थित कृषि विकास कार्यालयले किसान समूहलाई रु तीन लाख अनुदान दिएको जानकारी पनि उनले दिए। तरकारी निर्यातका लागि भने एक एग्रोजस्ता संस्थाले किसानलाई सघाउँदै आएका छन् ।
     
    अब नासपाती र लप्सी पनि निर्यात गर्न पाए हुने थियो, बलामी थप्नुहुन्छ । कोरोनाकालमा ‘लकडाउन’का कारण लाखौँका लप्सी खेर गएको पनि उनले बताए।

    अर्का किसान गीता बलामी महिलामध्ये ठूलो परिमाणमा खेती गर्नेमा पर्नुहुन्छ । आफू १७ वर्षको हुँदा कारितास नेपालले दिएको अग्र्यानिक खेतीसम्बन्धी तालिमबाट कृषिकर्ममा प्रवेश गरेकी उनले बिहीबार झण्डै तीन सय केजी टाटेसिमी निर्यातका लागि पठाएका थिए। वर्षायामभरि टाटेसिमी र खुर्सानीको खेती र हिँउदभरि लप्सीको क्याण्डी बनाएर बेच्ने उनी पनि लप्सी निर्यात गर्नसके फर्पिङका किसानले थप फाइदा पाउने बताउछन् । बालबच्चा सानो भएका कारण केही वर्षयता लप्सीको क्याण्डी बनाउने काम रोक्नुपरेको थियो । विदेश पठाउन सकिने अवस्था आए फेरि त्यो उद्योग सुरु गर्न चाहन्छु, उनको भनाइ छ ।

    यसबारे कुरा गर्दै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले कृषिबाटै नगरपालिकाले समृद्धि हासिल गर्न सक्छ भन्ने मनन् गरी विदेश निर्यात हुनेगरी उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिएको बताए। 

    दक्षिणकाली नगरपालिकाकी कृषि शाखा प्रमुख पविता राईका अनुसार नगरपालिकाका विभिन्न स्थानमा गरी करिब ३२ रोपनी जमिनमा अर्को महत्त्वपूर्ण नगदेबालीका रूपमा जिम्बुको खेती हुन्छ । जिम्बु दाल, तरकारी अचार आदिमा विशेष स्वाद कायम गर्न प्रयोग हुन्छ । विगतमा हिमाली क्षेत्रमात्र स्रोत रहेका जिम्बुलाई हिमाली क्षेत्र मुस्ताङबाट ल्याइएका बीउले अहिले फर्पिङभरि फैलिएका छन् । नगरपालिकाका करिब ६५ घरका किसानले जिम्बुखेती गरेका छन् । हरेक घरले प्रतिमहिना दुईदेखि तीन क्विन्टल जिम्बु बेच्छन् । वर्षायाममा त १५–१५ दिनमै काटिरहेका हुन्छन्, राई बताउछन् ।

    जिम्बुलगायतका खेतका आली र डिलमा फूल र फलफूलको खेती गरेर थप आम्दानी गर्न समेत किसान हौसिएका छन् । सुरुमा घरवरपर त्यत्तिकै उम्रिएका फूल लगेर दक्षिणकाली मन्दिरका आउने दर्शनार्थीलाई बेच्दै सुरु भएको थियो फर्पिङमा फूल व्यवसाय । अहिले अन्यत्रसमेत निर्यात गर्नेगरी फैलिएको छ । मौसमी फूल बटुलेर बेच्ने स्थानीय किसान विगत चार–पाँच वर्षयता प्लाष्टिक टनेलमा बेमौसमी फूलखेती गर्ने भएका छन् । स्थानीय जातका गोदावरी र मखमलीको खेती खास सिजनमा मात्र हुने गरेको छभने फर्पिङमा कलकत्ते जात भनिने सयपत्रीको खेती सधैँ हुने गरेको छ ।

    नगरप्रमुख बस्नेतका अनुसार नगरपालिकाले कृषिलाई आफ्नो प्रमुख उत्पादन मानेको छ । कृषिमा पनि परम्परागत निर्वाहमुखी बालीलाई भन्दा निर्यातको सम्भावना रहेका तरकारी, फलफूल र लप्सीजस्ता उत्पादन विगत चार दशकयता हुँदै आएको छ । ‘फर्पिङको नासपाती’ परम्परागत प्रसिद्ध ब्राण्ड हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij