एकै ओभरमा ३९ रन बनाएर सामोआका ब्याटरले तोडे दीपेन्द्रसिंह ऐरीसहितका खेलाडीको कीर्तिमान

एकै ओभरमा ३९ रन बनाएर सामोआका ब्याटरले तोडे दीपेन्द्रसिंह ऐरीसहितका खेलाडीको कीर्तिमान

मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • एकै ओभरमा ३९ रन बनाएर सामोआका ब्याटरले तोडे दीपेन्द्रसिंह ऐरीसहितका खेलाडीको कीर्तिमान

    काठमाडौं । सामोआका विकेटकीपर ब्याटर डेरियस विस्सरले पुरुषको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सबैभन्दा धेरै बनाउने कीर्तिमान बनाएका छन् ।

    आईसीसी पुरुष टी–२० विश्वकप पूर्वी एशिया–प्रशान्त क्षेत्र छनोटअन्तर्गत भानुआतुसँगको खेलमा सामोआका विस्सरले एक ओभरमा ३९ रन बनाएर नयाँ विश्व कीर्तिमान बनाएका हुन् । खेलको १५ औँ ओभरमा उनले भानुआतुका नलिन निपिको बलमा ६ वटा छक्कासहित ३९ रन जोडेका हुन् । उनले १५ औं ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गरे । चौथो बलमा नो बलबापत एक रन प्राप्त भयो । त्यसपछिको बलमा डेरियसले पुनः छक्का प्रहार गरे । पाचौं बलमा भने उनले रन बनाउन सकेनन् । छैठौं बलमा पनि नो बल भयो र एक रन प्राप्त भयो, तर डेरियसले त्यसैमा पनि छक्का प्रहार गरे । साथै, अन्तिम फ्रि हिटमा पनि छक्कासहित उनले एकै ओभरमा ३९ रनको योग बनाएका हुन् । 

    पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा लगातार ६ वटा छक्का प्रहार गर्ने कीर्तिमान यसअघि नै बनिसकेको थियो तर एकै ओभरमा ३९ रन अहिलेसम्मकै धेरै हो ।

    यसअघि पाँच पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै टिमले एकै ओभरमा ३६ रन बनाएको थियो । सन् २००७ मा भारतका युवराज सिंहले इङ्गल्यान्डका स्टुअर्ट बोर्डलाई एक ओभरमा ६ वटा छक्का प्रहार गर्ने पहिलो ब्याटर बनेका थिए । त्यसपछि सन् २०२१ मा वेस्ट इन्डिजका कायरन पोलाडले श्रीलङ्काका अकिल धनन्जयलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । यस्तै सन् २०२४ मा नेपालका दीपेन्द्रसिंह ऐरीले कतारका कमरन खानलाई एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए । यस्तै एकै ओभरमा ६ वटा छक्का प्रहार नभए पनि सन् २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानसँगको खेलमा वेस्ट इन्डिजका निकोलस पूरन तथा सन् २०२४ मै अफगानिस्तानसँगको खेलमा भारतका रोहित शर्मा र रिङ्कु सिंहले मिलेर एकै ओभरमा ३६ रन जोडेका थिए ।

    यसैगरी सामोआका डेरियस विस्सर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने देशको पहिलो ब्याटर बनेका छन् । यस्तै आजको खेलमा सामोआले १ सय ७४ रन बनाएकोमा उनी एक्लैले १ सय ३२ रन जोडे, यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा टिमको रनको तुलनामा ब्याटरले बनाएको रनको उच्चतम प्रतिशत हो । यो खेलमा सामोआ १० रनले विजयी भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij