भारतको पटाका कारखाना विस्फोटमा ८ जनाको मृत्यु, ८० घाइते

भारतको पटाका कारखाना विस्फोटमा ८ जनाको मृत्यु, ८० घाइते

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • भारतको पटाका कारखाना विस्फोटमा ८ जनाको मृत्यु, ८० घाइते

    भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् । 

    भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ । 

    वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म आठ जनाको मृत्यु र करिब ८० जना घाइते भएको जानकारी दिए । उनले मृतकको सङ्ख्या बढ्नसक्ने बताए । कारखाना स्थलका तस्बिरहरूले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् । 

    मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई ‘आवश्यक तयारी’ गर्न बोलाइएको बताए । उनले सामाजिक सञ्जाल एक्समा भने, “नजिकैका क्षेत्रहरूबाट हरदामा एम्बुलेन्स लगिएको छ र हेलिकप्टरको व्यवस्था गर्नका लागि सेनासँग सम्मपर्क गरिएको छ ।”

    उनका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ । 

    हरदा जिल्ला अस्पतालका सर्जन मनीष शर्माले केन्द्रमा ठूलो सङ्ख्यामा मानिस हताहत भएको बताए । “हाम्रो अस्पतालमा आठ जनाको मृत्यु भएको छ, अहिलेसम्म ९० जनालाई यहाँ भर्ना गरिएको छ र हामीले तीमध्ये १५ जनालाई ठूला अस्पतालमा रिफर गरेका छौँ”, उनले भने, “घटनास्थलबाट उद्धार भइरहेका धेरै मानिसलाई यहाँ ल्याइँदैछ ।”

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “मानिसहरूको मृत्युले म दुःखी छु ।” उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने बताए । 

    कारखानामा उद्धार कार्यमा समन्वय गरिरहेका जिल्लाका वरिष्ठ अधिकारी कैलाश चन्द पार्टेले दमकलहरूले आगो निभाउने प्रयास गरिरहेको बताए । “आगो अहिले पनि निभेको छैन र हामीसँग घटनास्थलमा करिब १५ दमकल र धेरै उद्धारकर्मी छन् ।” 

    उनका अनुसार कारखानामा दुई सयदेखि तीन सय मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन । “विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन् ।”

    मृतकहरूमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरू पनि रहेको एक प्रहरीले टाइम्स अफ इन्डियालाई बताएका छन् । “विस्फोटपछि भागदौडका क्रममा केही मानिसको मृत्यु भएको छ”, स्थानीय प्रहरी अधिकारी अब्दुल रइस खानले अखबारलाई भने, “आगोे लागिरहेकाले उद्धार टोली अहिलेसम्म वास्तविक घटनास्थलसम्म पुग्न सकेको छैन ।”

    भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् । विशेषरूपमा हिन्दूहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ । यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् । 

    सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij