पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’

पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
    चितवन । रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रवर्द्धन गर्न ‘मिनी म्याराथन’ आयोजना गर्ने भएको छ । महिला र पुरुष दुई समूहमा म्याराथन गर्न लागिएको हो । 
     
    आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक विपीन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक)ले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताए। उनका अनुसार १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता र पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता हुनेछन् । १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता नारायणी नदी किनारबाट सुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जङ्गल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ । 
     
    सो प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकसमेतको सहभागिता रहने उनले जानकारी दिनुभयो । साथै सिमान्तकृत चेपाङ समुदायका धावकलाई विशेष प्रोत्साहन गरिने उनको भनाइ छ ।
     
    प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाको पहिचान एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट यो मिनी म्याराथन आयोजना गर्न लागिएको हो । 
     
    रोटरी डिस्ट्रिक तीन हजार दुई सय ९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५ दशमलव पाँच किमीतर्फको प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु २५ हजार, चौथो हुनेलाई रु १० हजार, पाँचौँ हुनेलाई रु पाँच हजार र छैटौँदेखि १०औँ सम्मलाई रु तीन हजारसहित प्रमाणपत्र वितरण गरिनेछ । 
     
    दूरी पूरा गर्ने सबै चेपाङलाई रु दुई हजार पुरस्कारको व्यवस्था रहेको छ । यसैगरी पाँच किमी महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार, चौथो हुनेलाई रु तीन हजार, पाँचौँ हुनेलाई रु दुई हजार पाँच सय, छैटौँदेखि १०औँलाई रु एक हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । दूरी पूरा गर्ने महिला चेपाङलाई रु एक हजार प्रदान गरिने उहाँले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij