काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । यो हारसंगै चालु विश्वकपमा नेपालको यात्रा टुंगिएको छ । शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा भारतले टस जितेर ब्याटिङ गर्दै २९७ रन बनाएको थियो ।
२९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो । भारतविरुद्ध नेपालको शुरुवात र अन्त्य राम्रो भएपनि कुनै पनि ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपाली टिमको खातामा कप्तान देव खनालले ३३ रन बनाए । उनले ५३ बलमा दुई चौका प्रहार गरे ।
अर्जुन कुमालले २६, दीपक बोहराले २२, दुर्गेश यादवले २९ र आकाश चन्दले १८ रन थपे । यी दुईले अन्तिम विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्न भारतका सौमी पान्डेले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन फ्याक्दै २९ रनमात्र खर्चिए ।
अर्सिन कुलकर्णीले दुई विकेट लिँदा राज लिम्बानी, आरध्य शुक्ला र मुरुगन अभिषेकले समान एक विकेट लिए । भारतका सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ६२–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका सचिनले कप्तान उदयसँग २१५ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्याएका थिए।
युवा विश्वकपमा भारतले चौथो विकेटका लागि बनाएको यो नै अहिलेसम्मकै उच्च साझेदारी हो ।सचिनसँगै शतक बनाएका कप्तान उदयले १०० रन बनाए । उनले १०७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्णीले १८ रन बनाए ।
नेपालका गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए । आकाश चन्दले एक विकेट लिँदा नेपालले अर्को एक विकेट भने रनआउटबाट निकालेको थियो । यसअघि सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।
समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले पराजितगर्दै नेपाल सुपर सिक्समा पुुगेको थियो ।