काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।बंगलादेशका अरिफुल इस्लामले अविजित ५९ रन बनाए । जिसन आलमले ५५ रन बनाए । नेपालका सुबास भन्डारी एक्लैले ५ विकेट लिए । पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको बंगलादेश कुनै पनि समय दबाबमा देखिएन ।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।नेपालका विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रन बनाएका थिए । उनीहरुले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले अब दोस्रो तथा अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।