काठमाडौं ।आइसीसी यू-१९ विश्वकप अन्तर्गत नेपाल सुपर सिक्स चरणको पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल समिकरण दौडबाट बाहिरिएको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको पहिलाे खेलमा भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित हात पारेसँगै नेपाल सेमिफाइनल समिकरणबाट बाहिरिने पक्का भएको हो । नेपालले सुपर सिक्समा २ खेल खेल्ने तालिका रहेको छ ।
अंकबिहिन नेपालले दुवै खेल जिते पनि ४ अंक हुन्छ । भारत र पाकिस्तानकाे समान ६ अंक भएकाे छ । ती दुवै टाेलीले अझै एक खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले हरायाे । यस्तै पाकिस्तानले आयरल्यान्डविरुद्ध ३ विकेटको जित निकाल्यो । सुपर सिक्समा पुगेको टोलीको एक अर्काको नतिजा अघिल्लो चरणमन पुग्दा मात्र अंक जोडिने थियो ।
यसकारण नेपालले समूह चरणमा अफगानिस्तानविरुद्ध हासिल गरेको जित सुपर सिक्समा गणना भएन । न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हारको रनरेट भने गणना भएको छ । नेपालले सुपर सिक्सकाे पहिलो खेलमा आज दिउँसो १:४५ बजे बंगलादेशको सामना गर्नेछ । यस्तै शुक्रबार नेपाल र भारतबीच खेल हुनेछ । सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् ।
नेपाल रहेको समूह १ मा भारत र पाकिस्तानको ३ खेलमा ६-६ अंक छ । बंगलादेशको २ खेलमा २ र न्युजिल्यान्डको ३ खेलमा २ अंक छ । नेपालले २ र आयरल्याण्डले ३ खेल खेल्दै अंक जोडेका छैनन् । दोस्रो समूहमा अष्ट्रेलियाको २ खेलमा ४ अंक छ । श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रीका र इंग्ल्यान्डको २ खेलमा समान २-२ अंक छ । जिम्बाब्वेको भने २ खेलमा कुनै अंक छैन ।