सुर्खेत । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालित छन् ।
प्रदेश सरकारले कृषि तथा पशुपक्षीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि कृषि अनुदान वितरण गर्दै आएको छ । सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालयमातहतका निकाय र स्थानीय तहमार्फत बर्सेनि विभिन्न शीर्षकमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका मन्त्रायका सूचना अधिकारी एवं कृषि अधिकृत रामभक्त अधिकारीले जानकारी दिए ।
तीन तहका सरकारले कर्णालीको कृषिलाई उच्च प्राथमिकता दिए पनि कृषि बालीको उत्पादनमा सकारात्मक परिवर्तन आउन नसकेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन अनुसार कृषि क्षेत्रमा सरकारी लगानी बढेको पाइए पनि उत्पादन भने घट्दै गएको छ ।
“कर्णालीको कृषिबालीको उत्पादन ३.५३ प्रतिशतले ह्रास आई ११ लाख ५१ हजार ४ सय ३३।६१ मेट्रिकटन कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त उत्पादन ८.७६ प्रतिशतले वृद्धि भएको थियो”, राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा अवधिमा कर्णालीको खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०५ प्रतिशतले ह्रास आई ८ लाख ३५ हजार ६ सय ९५ मेट्रिकटन कायम भएको पाइएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बताए । गत आर्थिक बर्षमा यस्तो उत्पादन १०.६२ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा प्रमुख कृषिमध्ये धान बालीको उत्पादन १२.०४ प्रतिशतले वृद्धि भई १ लाख ४५ हजार ६३ मेट्रिकटन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन २.०५ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक बर्षको सोही अवधिमा ९.२१ प्रतिशतले वृद्धि भएको मकै उत्पादन ७.६१ प्रतिशतले घटेको छ । गहुँ उत्पादन गतको तुलनामा ०.४३ प्रतिशतले वृद्धि भई १ लाख ८८ हजार ३ सय २४ मेट्रिकटन पुगेको कोइरालाले जानकारी दिए ।
कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १६.७३ प्रतिशत, १८.९८ र २५.६९ प्रतिशतले ह्रास आएको प्रतिवेदनको तथ्याङ्कले देखाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्षको सोही अवधिमा उक्त बालीको उत्पादन क्रमशः ४५.९४ प्रतिशत, ४५.४९ प्रतिशत र १९.७७ प्रतिशतले वृद्धि भएको थियो ।
गत आर्थिक बर्षमा १.२४ प्रतिशतले वृद्धि भएको दलहन उत्पादन समीक्षा अवधिमा ७.५६ प्रतिशतले घटेर १७ हजार ८ सय ७९ मेट्रिकटन कायम भएको छ । कर्णाली प्रदेशमा तेलहन उत्पादन ४६.१९ प्रतिशतले वृद्धि भएको छ भने गत आर्थिक बर्षको सोही अवधिमा यस्तो उत्पादन ४.०७ प्रतिशतले वृद्धि भएको थियो ।
सागसब्जी र फलफूलको उत्पादन पनि घट्यो
प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा तरकारी तथा बागबानी उत्पादन ५।२९ प्रतिशतले ह्रास आई एक लाख ८१ हजार ३ सय ६८ मेट्रिकटन कायम भएको उल्लेख गरिएको छ । गत वर्ष यस्तो उत्पादन ६.८२ प्रतिशतले वृद्धि भएको थियो । गत वर्ष ७.४९ प्रतिशतले वृद्धि भएको तरकारी उत्पादनमा ६.४६ प्रतिशतले ह्रास आएको छ ।
स्थानीय सरकारबाट तरकारी र बागबानी उत्पादनमा लगानी अभिवृद्धि भए पनि उत्पादनमा प्रभावकारी नीति कार्यान्वयनको नतिजा सकारात्मक आउन केही समय लाग्ने भएकाले समीक्षा अवधिमा उक्त बालीको उत्पादनमा सकारात्मक परिवर्तन नदेखिएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख कोइरालाले बताए ।
प्रदेशभित्र फलफूल तथा मसला उत्पादनमा ४।३३ प्रतिशतले ह्रास आएको छ । गत आवमा फलफूल तथा मसला उत्पादनमा ०.९१ प्रतिशतले वृद्धि भएकामा चालु आर्थिक बर्षमा घटेर १ लाख ३३ हजार ९ सय ५७ मेट्रिकटन कायम भएको छ । स्याउ र अन्य फलफूल उत्पादन क्रमशः २९.४५ प्रतिशत र १२.८१ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा स्याउ ३.० र अन्य फलफूल उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको थियो ।
गत आर्थिक बर्षमा ८.४९ वृद्धि भएको सुन्तला चालु आवमा १९.८३ प्रतिशतले ह्रास आएको कोइरालाले बताए । आँप र केरा क्रमशः ६.६८ र २४.५७ प्रतिशतले कमी आएको छ । गत आर्थिक बर्षमा यी दुई फलफुलको उत्पादन क्रमशः २.३४ र १.१८ प्रतिशतले वृद्धि भएको थियो ।
अदुवा, बेसारलगायत प्रमुख मसला बालीको उत्पादनमा १३.३५ प्रतिशतले ह्रास आई ६१ हजार ९ सय ६१ मेट्रिकटन कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन ०.२६ प्रतिशतले वृद्धि भएको थियो । प्रदेशमा मह उत्पादनमा वृद्धि भई ४१३.५ मेट्रिकटन पुगेको मन्त्रायका सूचना अधिकारी अधिकारीले जानकारी दिए । गत वर्ष यस्तो उत्पादन २४.८८ प्रतिशतले घटेको थियो ।
कृषिबाली उत्पादनको क्षेत्रगत हिस्सा
खाद्य तथा अन्य बालीको उत्पादनले कर्णाली प्रदेशको कूल कृषि उत्पादनको करिब ७२।५८ प्रतिशत हिस्सा ओगटेको छ । तरकारी तथा बागबानी, फलफूल तथा मसलाबाली र मह उत्पादनको हिस्सा क्रमशः १५।७५, ११।६३ र ०।०४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रदेशको कूल खाद्य तथा अन्यबाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २४।३० प्रतिशत सुर्खेतको र सबैभन्दा कम १।३१ प्रतिशत डोल्पाको रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
“तरकारी तथा बागबानी उत्पादनमा सुर्खेतको ४१.९७ र डोल्पाको सबैभन्दा न्यून ०.५८ प्रतिशत हिस्सा रहेको छ । फलफूल तथा मसला बालीको हिस्सा सबैभन्दा बढी २४.९९ प्रतिशत सल्यानको रहँदा सबैभन्दा कम १.३१ प्रतिशत डोल्पाको छ । खाद्य तथा अन्य बालीमा सबैभन्दा धेरै २९.७८ प्रतिशत मकै उत्पादन रहेको छभने सबैभन्दा कम ०.०४ प्रतिशत हिस्सा उखु उत्पादनको छ”, अधिकारीले भने । उनका अनुसार कोदो, गहुँ, आलु र धान उत्पादनको हिस्सा क्रमशः ३.०६, २२.५४, २०.८९ र १७.३६ प्रतिशत रहेको छ ।
दूध उत्पादनमा वृद्धि
कर्णाली प्रदेशमा दूध उत्पादन ७.२३ प्रतिशतले वृद्धि भई ३६ हजार पाँच सय ६ दशमलव २८ हजार लिटर पुगेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक बर्षको सोही अवधिमा यो उत्पादन १८.११ प्रतिशतले वृद्धि भएको थियो ।
“मासु उत्पादन १०.१२ प्रतिशतले वृद्धि हुँदा अण्डा उत्पादनमा १५ प्रतिशतले ह्रास आएको छ । माछा उत्पादन १४.६२ प्रतिशतले वृद्धि भई १८२.५२ मेट्रिकटन पुगेको छ”, प्रतिवेदनमा भनिएको छ ।
माछापालनसम्बन्धी सरकारी निकायबाट प्रदान गरिने अनुदानको प्रभावकारी कार्यान्वयन हुनुका साथै किसानलाई माछापालनसम्बन्धी आवश्यक सीप, तालिमलगायतकार्यक्रम सञ्चालनभएकाले माछा उत्पादनमा सकारात्मक परिवर्तन आएको मन्त्रालयका कृषि अधिकृत अधिकारीले बताए ।
सिञ्चित क्षेत्रफलमा वृद्धि
प्रदेशमा खेतीयोग्य जमिन ३ लाख २७ हजार ४ सय ८५ दशमलव १५ हेक्टरमध्ये ५७ हजार ७ सय ७८.९१ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत आर्थिक बर्षको तुलनामा यस वर्ष सिञ्चित क्षेत्रफल १.५९ प्रतिशतले वृद्धि भएको मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
कुलोबाट सबैभन्दा बढी ४५ हजार २ सय १२ दशमलव १८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छभने सबैभन्दा कम दुई हेक्टर क्षेत्रफल बोरिङद्वारा सिञ्चित छ । नहरद्वारा सिञ्चित क्षेत्रफल १४ हजार नौ सय ५२ हेक्टर रहेको छ ।
घट्यो क्षेत्रगत कृषि कर्जा
प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आर्थिक वर्षको तुलनामा १७.५७ प्रतिशतले कमी आई ४ अर्ब ५२ करोड १९ लाख रुपैयाँ पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
“कूल कृषि कर्जामध्ये सबैभन्दा बढी सनपाट शीर्षकमा १० लाख ३० हजार रुपैयाँ पुगेको छ । सिँचाइ शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । प्रदेशमा प्रवाहित कूल कृषि कर्जामध्ये सबैभन्दा धेरै २ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ सुर्खेतमा र सबैभन्दा कम ९२ करोड १२ लाख रुपैयाँ मुगुमा प्रवाहित भएको छ”, राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख कोइरालाले भने ।