व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
    धरान । धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहनुभएको बताए । 
     
    उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उनी सुनाउछन् । उनले वर्षमा चारदेखि पाँच क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन्। जसबाट वार्षिक रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । अहिले बजारमा बेसार खुद्रा मूल्य प्रतिकेजी रु दुई सय ८० देखि तीन सयसम्ममा बिक्री हुने गरेको छ । 
     
    बेसार उत्पादक तुलसिङले भने, “मैले चार कठ्ठा जग्गामा बेसारखेती गरेको छु, तीन÷चार पटक गोडमेल गर्नुपर्छ, मेहनतअनुसारको आम्दानी पाएकाले खुसी छु ।” यहाँ उत्पादित बेसार धरान–१७ को मङ्गलबारे बजार, धरान कृषि बजारदेखि पोखरा, काठमाडौँ, लहान तथा छिमेकी मुलुक भारतलगायतका ठाउँहरुमा जाने गरेको छ ।
      
    व्यावसायिक रूपमा बेसारखेती गर्दै आउनुभएका अर्का किसान धरान उपमहानगरपालिका–२० का तिलक राई मौसमले साथ दिएको अवस्थामा बेसारखेतीबाट राम्रै आम्दानी हुने गरेको बताउछन् । “चार÷पाँचकठ्ठा जमिनमा बेसारखेती गर्दै आएको छु, वार्षिक चार क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने गरेको छ, यसबाट रु तीन लाखभन्दा बढी आम्दानी हुन्छ”, उनले भने । 
     
    धरानको  विष्णुपादुकामा यस क्षेत्रमै सबैभन्दा धेरै बेसारखेती हुन्छ । ४१ वर्षदेखि बेसारखेती गर्दै आएका राईले भने, “बेसार उत्पादन गर्दा मेहनत धेरै लाग्छ, हलोले जोत्न मिल्दैन, आफैँले कुटो, कोदालो लगाएर खन्नुपर्ने हुन्छ । पहाड जस्तो ठाउँमा गिटी, ढुङ्गा र बालुवा मात्र हुन्छ, खन्न निकै साह्रो हुन्छ, तर मेहनतअनुसार मूल्य राम्रै भएकाले दुःख बिर्सन्छु, खुसी हुन्छु ।”
     
    सोही ठाउँका अर्का किसान पदम राईले पनि बेसारखेती गरिरहेका छन् । यस क्षेत्रका उनी पुराना किसान थिए । उनी पनि वार्षिक तीनदेखि चार लाख यसै खेतीबाट आम्दानी गर्न सफल भएका छन्। बढीमा १० क्विन्टल बेसार उत्पादन गरेर उपभोक्ताको घरसम्म बेसार पु¥याउने काम सजिलो छैन, यो मेरो पुख्र्यौली खेती हो, उनको प्रतिक्रिया छ ।
     
    विष्णुपादुकामा उत्पादित बेसार बजारीकरणका लागि धरानको कृषि बजारलाई दिएको र त्यहाँबाट भारतसम्म निर्यात हुने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बुले  बताए । 
     
    अध्यक्ष लिम्बुका अनुसार हाल विष्णुपादुकामा बेसारखेती गर्ने दुईसयको हाराहारीमा किसान छन् । उनीहरुले गर्ने बेसार, अदुवाखेतीमा किरा लाग्ने, कुहिने समस्या देखापर्न थालेपछि त्यसको समस्या समाधानका लागि कृषि विज्ञको सल्लाहअनुसारको कीरा र रोग नियन्त्रण गर्ने औषधि किसानलाई प्रदान गरिँदै आएको जानकारी दिए। 
     
    विष्णुपादुकाबाट धरान बजार पुग्न केही समय लाग्ने भएकाले विष्णुपादुका नजिकै रहेको बजार भञ्ज्याङ भन्ने ठाउँमा बजारको व्यवस्था गरेर किसानको सहजताका लागि छिट्टै सुरु गरिने वडा अध्यक्ष लिम्बुको भनाइ छ । 
     
    विगतको तुलनामा चालु आर्थिक वर्षमा बेसारको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए। उनले भने, “विशेषगरी बेसार धरान उपमहानगरपालिका–२० बाट धेरै आउने गरेको छ भने पहाडी जिल्ला तेह्रथुम, पाँचथर, खोटाङ, धनकुटा लगायतबाट पनि बेसार बोकेर किसान आउने गरेका छन् । बेसार चैत, वैशाखमा सिजन हुने भएकाले त्यो समयमा धेरै आउने र यही सिजनमा वार्षिक दुई हजार चार सय मेट्रिकटनसम्म बेसार बिक्री हुने गरेको तथ्याङ्क छ ।” 
     
    विसं २०८० असार मसान्तदेखि गत जेठ सम्ममा धरान उपमहानगरपालिका–१३ कृषि बजारबाट जम्मा रु ४५ करोडको बेसार बिक्री भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउँदै यसको निर्यातमा सरकारको सहयोगको आवश्यकता छ भने ।
     
    पछिल्लो समयमा बेसार भान्सामा मात्र सीमित नरहेर सौन्दर्यकरण, बिहेमा हल्दी लगाई कार्यक्रममा पनि खपत भइरहेको पाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij