काठमाडौं । यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुग्न नेपालले अफगानिस्तानविरुद्ध १४६ रनको सामान्य लक्ष्य पाएको छ । इस्ट लन्डमा शुक्रबार अफगानिस्तानका कप्तानले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए ।
तर, नेपालका लागि आकाश चन्दले पाँच विकेट लिएपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रन बनाउँदा अलआउट भएको हो । अफगानिस्तानका लागि कप्तान नासिर खान र फरदिन दावुदजाइले १० औं विकेटका लागि ५८ रनको साझेदारी गरेपछि नेपाली बलर दबाबमा परेका थिए । तर, दीपेश कँडेलले दोस्रो विकेट लिनेक्रममा कप्तान नासिरको विकेट लिँदै खतरनाक बनेको साझेदारी तोडे । नेपालका लागि कँडेलले दुई विकेट लिए भने सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले एक एक विकेट लिए ।
समूह डीमा नेपाल र अफगानिस्तान मात्र अंकविहीन छन् । पाकिस्तान र न्युजिल्यान्डले एक–एक जित हात पारिसकेका छन् ।