काठमाडौं । मुलुकको सङ्घीय राजधानीको सबैभन्दा नजिक रहेको बालाजुको बाइसधारा पछिल्लो समय पिकनिक र घुमघामका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित उत्तर–पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा पछिल्लो समय पिकनिक र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ ।
बालाजु बाइसधारा घुम्नका लागि अहिले दैनिक सयौँ व्यक्ति यहाँ पुग्ने गरेका छन् । बालाजु पार्कसँगै जङ्गलसमेत भएकाले रमणीय वतावरणमा समय बिताउन चाहनेको रोजाइमा यो पार्क पर्न थालेको स्थानीय बताउँछन् । बालाजुस्थित बाइसधारा ऐतिहासिक महत्वको पर्यटकीयस्थल पनि हो । यो बिहान ८ देखि साँझ ६ बजेसम्म खुल्ने गरेको छ ।
उक्त पार्क हाल काठमाडौँ महानगरपालिकाको वातावरण विभागअन्तर्गतको बालाजु बाइसधारा उद्यान कार्यालयले रेखदेख गर्दैै आएको छ । कार्यालय प्रमुख निरञ्जनविक्रम बस्नेतले विशेष पर्व र बिदाको दिन यहाँ घुम्न आउने व्यक्तिको सङ्ख्या अत्यधिक हुने गरेको बताए । “अव्यवस्थित सहरीकरणका कारण स्वच्छ, सफा र खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा उद्यानले राजधानीवासीको मन जित्न सफल भएको छ,” उनले भने ।
दैनिक ५ सयदेखि ७ सय व्यक्ति र पर्व तथा बिदाको दिनमा तीन हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका बस्नेतले जानकारी दिनुए । उनका अनुसार यहाँ रहेका २२ धारामा भने अहिले पानी आउँदैन ।
जाडोको समयमा बालाजु वरपरका मानिस उद्यानमा घाम ताप्नसमेत जाने गरेका छन् । काठमाडौँ वनस्थलीबाट उद्यान घुम्न आएका रेशु श्रेष्ठले स्वच्छ, सफा वातावरण खोज्दै यहाँ आएको भन्दै यहाँ आएपछि मन आनन्दित भएको बताए । “यहाँको बगैँचा, हरियाली र नीलकाँडा तथा थरीथरी फूलको सुगन्धले सारा दुःख नै भुलाउँछ”, उनले भने ।
बालाजु बाइसधारा उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्रको करिब १ सय ६२ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले एउटा महत्वपूर्ण स्थल हो ।
२०१८ सालजेठ २७ गते शिलान्यास भई २०२१ साल साल जेठ २७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको सो उद्यान समयअनुसार महेन्द्र उद्यान, बालाजु पार्क, वाटरगार्डेन हुँदै हाल बाइसधारा उद्यानका नामले परिचित छ । राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ ।
राजा जयप्रकाश मल्लले आफ्नो शासनकालमा सो क्षेत्र जताततै पानीले जलमग्न भएकाले पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रुपमा २१ ढुङ्गेधारा निर्माण गरिएको किंवदन्ती छ । त्यसको केही वर्षपछि राजा रणबहादुर शाहले २१ धाराका बीचमा एउटा अरू ठूलो धारा थपी बाइस धारा पुर्याएको इतिहास छ ।
आदिकवि भानुभक्त आचार्य तनहुँदेखि काठमाडौँ आउने क्रममा बालाजु देखेपछि रमाएर कविता लेखेका थिए । भानुभक्तले बालाजु बाइसधाराको बारेमा कविता लेखेकै कारण २०५१ सालमा भानुजयन्तीको अवसर पारेर यहाँ आदिकवि आचार्यको सालिक स्थापना गरियो । बालाजु बाइसधारा आन्तरिक तथा बाह्य पर्यटकको घुम्नेमात्र ठाउँ नभएर साहित्यकर्मीका लागि पनि त्यत्तिकै महत्वपूर्ण तीर्थस्थल हो ।
धार्मिक उद्देश्यले पनि बालाजु उद्यान त्यत्तिकै महत्वपूर्ण छ । यस उद्यानभित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बूढानीलकण्ठ, शीतलामाई मन्दिर र रत्नचुडेश्वर महादेवको दर्शन गर्न दैनिक सयौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ । सो अवसरमा बाइसधारामा मेला लाग्ने गरेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ लाख ८३ हजार ३ सय १२ जनाले बालाजु बाइसधाराको भ्रमण गरेका उद्यान कार्यालयले जनाएको छ । उद्यानभित्र वनभोज, विवाह तथा व्रतबन्धका लागि पनि मानिस आउने गरेका छन् ।
उद्यानमा प्रवेश शुल्क नेपालीका लागि ३० रुपैयाँ, नेपाली विद्यार्थीका लागि २० रुपैयाँ, विदेशीका लागि १ सय रुपैयाँ, मोटरसाइकल पार्किङका लागि ३० रुपैयाँ, ठूला सवारी साधन पार्किङ शुल्क ६०रुपैयाँर पाँच जनाभन्दा बढी ड्राइफुड जमघटका लागि ३ सय रुपैयाँ लिँदै आइएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार व्यक्तिगत क्यामरा १ सय रुपैयाँ, व्यावसायिक फोटो १ हजार ५ सय रुपैयाँ र विवाह फोटो सुट ५ सय रुपैयाँ, म्युजिक भिडियो सुटिङ १० हजार रुपैयाँ लिने गरिएको छ ।
सातवटा पिकनिक ‘स्पट’का लागि १ हजार ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म शुल्क लिइँदै आएको कार्यालयले जनाएको छ । बालाजु बाइसधारा उद्यान कार्यालयले चालु आर्थिक बर्षको छ महिनामा ६० लाख १४ हजार २ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।
उद्यान प्रवेशमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ । लामो इतिहास बोकेको यस पार्कमा दैनिक सयौँ र पर्व तथा बिदाको समयमा हजारौँ व्यक्ति घुम्न आउने भए पनि यहाँको पूर्वाधार भने व्यवस्थित हुन सकेको देखिँदैन । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यथेष्ट मात्रामा सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको बताउँछन् ।