भक्तपुरका किसानलाई धान रोप्ने चटारो

भक्तपुरका किसानलाई धान रोप्ने चटारो

बिहिवार, आषाढ ६ २०८१
बिहिवार, आषाढ ६ २०८१
  • भक्तपुरका किसानलाई धान रोप्ने चटारो

    भक्तपुर । यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतहरुमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । 
     
    “पानी परेर खेतका गह्रा भरिएपछि धान खेती गर्न नभइ नहुने रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङ्मा खेतमा रोपाइँ गरिरहेकी किसान कल्पना वासीले भने। 

    विगतका वर्षमा असार १५ ताका किसानलाई भ्याइनभ्याइ हुनेमा यसवर्ष असार १५ अघि नै पानी परेपछि जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँ हुन थालेको चाँगुनारायण–९ का किसान सानुभाइ गिरीले बताए । उनका अनुसार कतिपय किसानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । 

    सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यसवर्ष आकाशे पानी समयमा नै परेकाले किसान रोपाइँमा लागेका हुन् । 

    सूर्यविनायक नगरपालिका–८ नखेलका किसान पूर्णिका थापाले खेतमा काम गर्ने ज्यामी नपाउँदा समस्या परेको बताए । उनले भने, “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो, मल नपाए यसवर्ष उत्पादन घट्छ ।” 

    खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने चिन्ताले सताएको किसान बताउँछन् । 

    धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधिको प्रयोग बढाउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सकिने कृषि प्राविधिक हरिकृष्ण नेपालले बताए । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले आधुनिक प्रविधिमा सहुलियत प्रदान गरी सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

    विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij