बागलुङ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासो चढिराखेको बेला बागलुङको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ ।
सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो । तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको सहकारीले तितौरेमा दुई रोपनी जग्गामा अदुवाखेती गर्दै आएको छ ।
सहकारीले उत्पादन गरेको बेसारलाई यस वर्षदेखि ब्रान्डिङ गरेको छ । सहकारी संस्थाले वार्षिक २० क्विन्टल उखु बिक्री गर्दै गरेको थियो । यस वर्ष सहकारीले एक लाख बराबरको बेसार बिक्री गरेको र अन्य बीउलाई सदस्यमा सापटी दिएको सहकारीका कोषाध्यक्ष तथा कुँडुलेका अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताए ।
सहकारीले खेती गर्न थालेको दुई वर्षपछि बेसार बिक्री गर्न थालेका र एक लाख बराबरको बेसारलाई ब्रान्डिङ गरेर बिक्री गरेको सहकारीले जनाएको छ । केहि बेसार सोही जग्गामा लगाएको र बाँकी बीउ पुुजीका लागि सदस्यलाई वितरण गरिएको बताइएको छ । त्यसरी वितरण गरिएको बीउ अर्को वर्ष सहकारीलाई नै फिर्ता गर्नु पर्ने नीयम बनाइएको छ ।
सहकारीले कृषिउपजको बजारीकरणसँगै सदस्यलाई कृषिमा आत्मनिर्भर गराउनका लागि अदुवा र बेसारको बीउ सापटी दिने प्रचलन ल्याएको सहकारीले जनाएको छ । सहकारीका आठ सय शेयर सदस्यमध्ये अधिकांश सदस्य कृषक भएकाले उनीहरुलाई अदुवा र बेसारको बीउ वितरण गरिएको हो । सहकारीले तीन ठाउँमा उखु, बेसार र अदुवा उत्पादन गर्दै आएको छ ।
सहकारीले ठूलो परिणाममा उत्पादन गर्न नसके पनि सदस्य लक्षित उत्पादन गरिरहेको सहकारीका अध्यक्ष चूडामणि उपाध्यायले जानकारी दिए । उपाध्ययका अनुसार गत पुसमा आयोजना गरिएको साधारणसभामा बेसारलाई मायाको चिनोका रुपमा अतिथिलाई दिइएको थियो ।