काठमाडौं । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना अघि सारेको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापनमा सहजता पुर्याउँने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको बताए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको हो । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने पिक एन्ड ड्रप प्रणाली लागु गरिने र त्यसपछि सबे खाले सवारीमा रोक लगाउँने गरी गृहकार्य भइरहेको लम्सालको भनाई छ ।