नेपाली सेनाद्वारा हलेसीमा हेलिप्याड, खेलमैदान र शौचालय निर्माण

नेपाली सेनाद्वारा हलेसीमा हेलिप्याड, खेलमैदान र शौचालय निर्माण

बुधवार, पौष १८ २०८०
बुधवार, पौष १८ २०८०
  • नेपाली सेनाद्वारा हलेसीमा हेलिप्याड, खेलमैदान र शौचालय निर्माण

    खोटाङ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका छन् । सेनाको मुडे ब्यारेकबाट खटिएका ३५ जनाको टोलीले दुई साता लगाएर धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका हुन् । त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थाका बिरामीका लागि उपयोगमा ल्याउने गरी धितुङस्थित लोकेबरमा हेलिप्याड निर्माण गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताउनुभयो । 

    “सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध हुनुपर्छ । स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा नेपाली सेनाको सदैव सहयोग रहन्छ”, प्रमुख सेनानी गुरुङले भन्नुभयो, “त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिकरुपमा उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर हेलिप्याड तथा स्थानीय युवाका लागि भलिबल खेलमैदान र शौचालय निर्माण गरिदिएका हौँ ।”

    लोकेबरस्थित सार्वजिक जग्गामा निर्माण गरिएको हेलिप्याडमा एन नाइन्टिन हेलिकोप्टर ३५ जनासम्म मानिस अटाउन सक्ने क्षमताको हेलिकोप्टर अवतरण तथा उडान भर्न मिल्ने गणपति गुरुङले जानकारी दिनुभएको छ । “हेलिप्याडमा हेलिकोप्टर अवतरण तथा उडानका साथै भलिबल खेल्न मिल्ने व्यवस्था मिलाइएको छ । बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट चारवटा भलिबल र दुईवटा नेट जालीसमेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “दुईवटा भलिबल र एउटा नेट वडा नं ७ महादेविस्थान र दुईवटा भलिबल र एउटा नेट वडा नं ८ धितुङका वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ ।

    भलिबल खेलमा सहभागी खेलाडी र हेलिकोप्टरमा आवतजावत गर्ने मानिसका लागि महिला पुरुष छुट्टाछुट्टै शौचालयसमेत निर्माण गरिदिएका छौँ ।” तीस मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको बहुउपयोगी हेलिप्याड निर्माणका लागि नगरपालिकाले जेसिबी र त्यसमा खपत भएको डिजेल ९इन्धन० उपलब्ध गराएको जनाइएको छ । शौचालयका लागि भने नेपाली सेना आफँैले निर्माण सामग्रीसमेत खरिद गरेर सुविधायुक्त पक्की भवनसहितको महिला–पुरुष शौचालय निर्माण गरिदिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । 

    नेपाली सेनाले निर्माण गरेको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय बुधबार हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले औपचारिकरुपमा उद्घाटन गर्नुभयो । औपचारिकरुपमा आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख राईले नेपाली सेनाको योगदानलाई नगरपालिकाले उच्च मूल्याङ्कनका साथमा सम्मान गर्ने योजना बताउनुभयो । नगरपालिकाकै अधिनमा रहने गरी निर्माण गरिएको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्का, सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म खोटाङका गुल्मपति प्रहरी नायब उपरीक्षक कृष्णबहादुर बम, लगायतको उपस्थिति रहेको थियो । 

    हेलिप्याड परिसरमा छानासहितको एउटा प्रतीक्षालय आवश्यक देखिएकाले त्यसको व्यवस्थाका लागि नगरपालिकालाई सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी सुनारले प्रस्ताव राख्नुभयो । कार्यक्रमका विशेष अतिथि प्रजिअ सुनारले राखेको प्रस्तावमा आफूहरु सहमत रहेको नगर प्रमुख राईले प्रतिक्रिया दिनुभयो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij