काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पनि पराजित भएको छ । बुधबारराती दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।
पाकिस्तानको जितमा अजान अवाइसले ६३ रन बनाए । उनले ८२ बलमा ६ चौका प्रहार गरे । सामयाल हुसेन र साहजैब खानले समान ३७ रन थपे । अहमद हसनले २९ र हरुन अर्सदले १५ रन जोडे । नेपालका आकाश चन्दले तीन विकेट लिए । दीपेश कँडेल र आकाश त्रिपाठीले एक– एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको थियो । नेपालका ओपनर विपीन रावलले सार्वाधिक ३९ रन बनाए । ६८ बलको सामना गरेका रावलले चार चौका र एक छक्का प्रहार गरे । दीपक डुम्रेले २६ रन थपे ।
यस्तै, नेपाली टिमको स्कोरबोर्डमा कप्तान देव खनालले २३ रन जोडे । सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन थपे । विपीन र दीपकले यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा मौका पाएका थिएनन् । यसअघि पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका ओपनर अर्जुन कुमाल ६ रनमा आउट भए ।
नेपालविरुद्ध पाकिस्तानका अराफत मिनहारसले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अराफतले दुई मेडन फ्याक्दै २३ रन खर्चिए । अहमेद हुसेन र उबैद साहले दुई–दुई विकेट लिँदा खुबइब खालिल, मोहम्मद जिसान र अली अस्फन्दले समान एक विकेट लिए ।
समूह ‘डी’मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोेरेको थियो । पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानसंग खेल्नेछ ।
खेलमा नेपालका ब्याटरले दौडिएरै पाँच रन बनाएका थिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याएका ।