काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानसामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै १० विकेट गुमाउँदै १ सय ९७ रन बनाएको हो।
नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए। दीपक डुम्रे २६, कप्तान देव खनाल २३, सुवास भण्डारी २०, गुल्सन झा १८, दीपेश कँडेल १३ रनमा आउट भए। अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६ रन बनाउँदा उत्तम मगरले ४ रन जोडे। आकाश चन्द १६ रनमा अविजित रहे।
पाकिस्तानका अरफत मिन्हासले ३, अहमद हुसैन र उबैद साहले समान २, खुबैब खलिल, मोहम्म जिसन र अली अस्फन्दले समान एक विकेट लिए। प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो ।
समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ । पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १–१ खेल जितेका छन् । सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले विजयी भएको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । सन् २००० मा दुई टिमबीच तय भएको खेल वर्षाले रोकिएको थियो ।