काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको छ। न्युजिल्याण्डले जितका लागि दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्षो ।
नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ९० रन बनाए । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा आईतवार राती सकिएको खेलमा कुुमालले ७३ बलमा ६ चौका हान्दै अर्धशतक पूरा गरेका थिए । उनले १०४ बलको सामना गरेर १२ चौका हान्दै ९० रन बनाए।
अर्जुनले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ५९ रनको साझेदारी गरे। देव ३६ रन बनाएर आउट भए। तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए। शुरुवातमै नेपालले झड्का बेहोर्नु परेको थियो । रनको खाता नखोल्दै पालीको तेस्रो बलमा ओपनर दीपक बोहरा आउट भएका थिए।
आकाश त्रिपाठी छैटौँ ओभरमा म्याट रोको बलमा क्याच आउट भए। उनले १४ बल खेलेर २ रनमात्र जोडेका थिए। विकेटकिपर ब्याट्सम्यान उत्तम थापा मगर १७ औँ ओभरको अन्तिम बलमा शून्यमा आउट भए। अलराउन्डर गुल्सन झा पनि २ रनमात्र बनाएर आउट भएपछि नेपालको पारि धरमराएको थियो।
दीपक बोहराले २७ बलको सामना गरी १५ रन हिर्काए। दीपेश कँडेल पनि ८ बल खेलेर शून्यमै आउट भए। आकाश चन्दले २६ बल खेल्दै १४ रन बनाए। सुवाष भण्डारी ३३ रन र तिलक भण्डारी १७ रनमा अविजित रहे। न्युजिल्याण्डका लागि मेसन क्लार्कले ३ विकेट‚ एवाल्ड स्रोडर र अस्कर ज्याक्सनले २–२ विकेट र म्याट रो तथा ज्याक कमिङले १–१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका लागि स्नेहिथ रेड्डीले अविजित रहँदै १२५ बलमा ११ चौका र ६ छक्का सहित १४७ रन बनाए । उनलाई किवी कप्तान अस्कर ज्याकसनले ८१ बलमा ७५ रन बनाएर टिमको स्कोर उकास्न मद्दत गरे। ज्याकसनले आफ्नो पालीमा ५ छक्का र ३ चौका हाने।
यसअघि लगातारजस्तै तीन विकेट गुमाउँदा संकटमा परेको न्युजिल्याण्डका लागि रेड्डी र ज्याकसनले चौथो विकेटका लागि १५७ रनको साझेदारी गरेका थिए। न्युजिल्याण्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो। उनलाई सुवाष भण्डारीले बोल्ड गरेका थिए। वाट्सन आउट हुँदा न्युजिल्याण्डले ५३ रन बनाएको थियो।
दोस्रो विकेटका रुपमा न्युजिल्याण्डले टम जोन्सलाई ३३ रनको व्यक्तिगत स्कोरमा गुमायो। टमलाई स्पिनर तिलक भण्डारीले बोल्ड गरे। दोस्रो विकेट गुमाउँदा न्युजिल्याण्डले ६६ रन बनाएको थियो। स्रो विकेटका रुपमा ओलिभर टेवटिया शून्य रनमै पेभेलियन फर्किए।
उनलाई स्पिनर दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरको हातबाट क्याच गराए। टेवटिया आउट हुँदा न्युजिल्याण्डको स्कोर ६७ रन थियो। नेपालका लागि सुवास भण्डारीले ३ विकेट, गुल्सन झाले २ विकेट र दिपेश कँडेल, तिलकराज भण्डारी तथा आकाश त्रिपाठीले १–१ विकेट लिए।