काठमाडौं । बङ्गलादेशको सतारुढ पार्टीका एक सांसदको भारतमा हत्या भएको छ । व्यक्तिगत कामका लागि कलकत्ता आएका सांसद अनवारुल अजिम गत शनिबादेखि बेपत्ता भएका थिए ।
बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले ढाकामा पत्रकार सम्मेलनमा सांसद अजिमको कोलकातामा हत्या भएको बताए। बङ्गलादेश समाचारपत्र डली स्टारका अनुसार बुधबार आफ्नो निवासमा पत्रकाहरूसँग मन्त्री खानले यस सिलसिलामा बङ्गलादेश प्रहरीले ३ जनालाई पक्राउ गरेको जानकारी दिए।
उनले भने ‘यसमा संलग्न सबै हत्यारा बङ्गलादेशी भएको हामीले अहिलेसम्म थाहा पाएका छौँ, यो सुनियोजित हत्या थियो’। शवको ठेगानाबारे सोध्दा उनले आफूलाई अहिलेसम्म थाहा नभएको बताए।
बेपत्ता सांसद अजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्याह्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको विधाननगरस्थित एक घरमा अन्तिम पटक देखिएका थिए ।
कोलकाताको बिधाननगरमा रहेको पारिवारिक मित्रका अनुसार अजिमले दिल्ली जाने बताएका थिए तर मे १३ देखि हालसम्म उनीसँग सम्पर्क भएको छैन ।
सञ्चारको अभाव र अचानक कथितरूपमा बेपत्ता भएकाले चिन्तित सांसदकी छोरीले आफ्नो बुबासँग सम्पर्क गर्न नसक्ने जानकारी पाएका सांसदका पारिवारिक मित्र गोपाल विश्वासले कोलकातास्थित विधाननगरको बारानगर प्रहरी चौकीमा बेपत्ता भएको उजुरी दिएका थिए ।