काठमाडौँ । बिमान कम्पनीले काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्ने पर्ने नीयम कडाईका साथ लागु गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।
सो निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौँबाहिरका विमानस्थलमा राखेर काठमाडौँका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए । तर, पछिल्लो समय कतिपय एयरलाइन्सले प्राविधिक, मौसमलगायत कारण देखाएर जहाज काठमाडौँमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको हो।
अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौँ ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडाँैमा रात्रि बिसान नगरी काठमाडौँबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो ।
कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौँमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । काठमाडौँबाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाडौँका लागि सम्बन्ध्ति गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् ।
महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौँबाहिरका विमानस्थलमा रात्रि बिसान थप प्रभावकारी बनाउन लागिएको हो । यसबाट काठमाडौँबाहिरबाट आउने यात्रुलाई पनि सहज हुनेछ ।
प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको छ, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाडौँ विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो ।