भरतपुर । चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ ।
एम्बुलेन्स हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन् । गाउँलेको सामान लोड गरेपछि एम्बुलेन्स बजार झर्छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको कृषि एम्बुलेन्स हपनीका चेपाङ समुदायका लागि आयस्रोतको सजिलो माध्यम कृषि एम्बुलेन्स बनेको छ ।
कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्र्याङबाट किसानको तरकारी फलफूल र अन्य सामाग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायतका बजारसम्म लैजाने गरेका छन् । दिनभर किसानका सामान बेचेपछि उनी साँझ गाउँ फर्कन्छन् र किसानको आम्दानी बुझाउछन् ।
कृषि एम्बुलेन्स चलाउन थालेपछि गाउँमा परिवर्तन आएको दीपकले बताए । एम्बुलेन्स ल्याएसंगै गाउँका सबै सामान बजार लगेर बिक्री गर्न पाइएको उनको भनाई छ । यसअघि ती सामान डोकोमा बोकेर घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेको दिपकको भनाई छ । गाउँमा उत्पादन भएका तरकारी, फलफूल, डोको नाङ्लोलगायतका सबै उत्पादन बिक्रीका लागि बजार लैजाने गरेको उनले बताए ।
गाउँका खसी बोका पनि यही एम्बुलेन्समा राखेर बिक्रीका लागि लैजाने गरिएको छ । अघिल्लो महिना चार पाँच टिप खसीबोका बजार लगेको चालक प्रजाले बताए । प्रतिकिलो पाँच सय ५० केजीमा गाउँबाटै खसीबोका बिक्री हुने गरेको उनको भनाई छ । उनका अनुसार, गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका छन् । किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै प्रजाले आफु कहिल्यै खाली बस्न नपरेको बताए ।
गाउँबाटै सबै सामान बिक्री हुने भएपछि हातमा सीप भएकाहरूले डोको नाङ्लो बुन्ने गरेका छन् । हपनी कृषक समूहको अध्यक्ष टेकबहादुर चेपाङ कृषि एम्बुलेन्सले गाउँलेलाई उत्साहित र जाँगरिलो बनाएको बताउ । सबै गाउँलेको मागअनुसार नै गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा एम्बुलेन्स खरिद गरिदिएको हो ।
पहिले गाडी भनेको समयमा नआउने र सामन भनेको ठाउँमा नपु¥याउने समस्या रहेको बताउँदै अध्यक्ष टेकबहादुरले भने, “गाउँमै गाडीवालाको बार्गेनिङले मूल्य नपाउने समस्या थियो ।” अहिले आफ्नै गाडीले सामान लैजादा बजार र मूल्यको समेत चिन्ता हराएको छ । समूहमा ३५ घरधुरी आबद्ध छन् । यहाँका ५३ घरधुरीमध्ये आधा बढी सहकारीमा आबद्ध रहेको र अन्य पनि आबद्ध हुने तयारीमा रहेको टेकबहादुरले जानकारी दिए ।