मानपुर बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै, चार वर्षअघि १२ करोडमा भएको थियो सम्झौता

मानपुर बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै, चार वर्षअघि १२ करोडमा भएको थियो सम्झौता

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • मानपुर बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै, चार वर्षअघि १२ करोडमा भएको थियो सम्झौता

    तनहुँ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ । जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त सडक खण्डमा हालसम्म ३ किलोमिटर सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

    पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, प्रमूख आचार्यले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ ।”
     
    २०५१ सालमा उक्त सडकको ट्रयाक खुलेको थियो । २०७७ साल मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो । ३५ करोड १४ लाख ७४ हजार १ सय ९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३ सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो । 

    २०७६ साल फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माणकार्य ढिलाइ भएको हो । जिल्लामा यसवर्ष पिसिसि, आरसिस र कालोपत्र गरी २६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij